राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेस नेताद्वय बलबहादुर र अर्जुननरसिंहको असहमति

सत्तारुढ दल नेपाली कांग्रेसका नेताद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले राष्ट्रियसभाको उम्मेदवार चयनमा असहमति व्यक्त गर्दै फरक मत राखेका छन्।

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका नेताद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले राष्ट्रियसभाको उम्मेदवार चयनमा असहमति व्यक्त गर्दै फरक मत राखेका छन्।



सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै उनीहरूले उम्मेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावनाविपरीत भएको भन्दै राष्ट्रियसभा उम्मेदवार चयनको हालैको निर्णयमा आफूहरू असहमत भएको जनाएका हुन्। “समग्रतामा उम्मेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएकाले राष्ट्रियसभा उम्मेदवार चयनको हालैको निर्णयमा असहमत भएको यो फरक मत प्रस्तुत गरेका छौँ,” नेताद्वयले फरक मतमा उल्लेख गरेका छन्।



राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिले पुस १४ गते प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीका योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकतामा राख्ने निर्णय गरेको थियो। उनीहरूले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका क्रममा यो व्यवस्थालाई ठाडो उल्लंघन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वसनीयता खडा गरेको आरोप लगाएका छन्। 



संसदीय बोर्डले विधानअनुसार पूर्णता पाउनु उम्मेदवार छनोटको अनिवार्य वैधानिक शर्त भए तापनि त्यसलाई पूर्णता नदिनुबाट पार्टी नेतृत्वको प्रक्रियागत गम्भीर त्रुटि र स्वेच्छाचारिता स्पष्ट देखिएको पनि उनीहरूको भनाइ छ। समग्र मधेशी समुदायबाट प्रतिनिधित्व हुन नपाएको तथा विज्ञ, बौद्धिक, व्यावसायिक र पेसागत वर्गलाई पूर्ण रूपमा उपेक्षा गरिएको र समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्झन गरिएको पनि उनीहरूको जिकिर छ।



रिक्त रहेको १९ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा १० सिट परेको थियो। लामो रस्साकस्सीपछि पार्टी पदाधिकारीहरूले सानेपास्थित कार्यालयमा मध्यरातसम्म बैठक बसेर उम्मेदवारको टुंगो लगाएका थिए। सोमबार राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता भएको छ भने निर्वाचन माघ ११ गते हुने तय छ।