वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

काठमाडौँ– डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। 

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सोमबार उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको हो। दसौँ तहका अधिकृत कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो।

अनुसन्धानका क्रममा उनको १२ वर्षको जागिर जीवनमा आर्जित सम्पत्ति ८१ लाख ८६ हजार रुपैयाँ रहेको थियो भने बैंक मौज्दात र लगानी २ करोड ७ लाख रुपैयाँ देखिएको आयोगले जनाएको छ।

आयभन्दा १ करोड २५ लाख ९६ हजार रुपैयाँ बराबरको स्रोत नखुली सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएको हुँदा सार्वनजिक पद धारण गरेका कोइरालाविरुद्ध आरोप दायर गरेको अख्तियारले जनाएको छ।

कोइरालाले गैरकानूनी रूपमा आर्जन गरेको रकमबाट आफ्नी श्रीमती गीता पौडेल कोइरालासमेतको नाममा जग्गा खरिद गरेको, घर निर्माण तथा बैंक खातामा जम्मा गरेको अख्तियारले जनाएको छ। अख्तियारले गीतालाई पनि प्रतिवादी बनाएको छ।