नेपालमा ७ जनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि भएको जनाएको छ। १६ वटा नमूनाको परीक्षण गर्दा सात वटामा जेएन.१ को संक्रमण पुष्टि भएको हो।

काठमाडौँ– नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९)को ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात जनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुस २२ गते जिनोम सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा सात वटा नमूनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको बताए।

पछिल्लो समय विश्वका केही देशमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को जोखिम बढिरहेको छ। नेपालका छिमेकी देशमा पनि संक्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको प्रवक्ता डा. बुढाथोकीको भनाइ छ।

ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले सीमा प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कका साथै स्वास्थ्य कार्यालयलाई आवश्यक स्क्रिनिङ्ग र निगरानीमा निरन्तरता दिन, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन भनेको छ।

मन्त्रालयले संक्रमण र संक्रमणको फैलावट रोकथामका लागि सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन आग्रह गरेको छ। त्यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिन भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि सर्वसाधारणमा अपिल गरेको छ।