कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको जनाएको छ।
काठमाडौँ– यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा ४.३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो।
चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढेको जनाइएको छ। धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् ८ हजार ८०० हेक्टरले कमी आई १४ लाख ३८ हजार ९८९ हेक्टर कायम हुन पुगेको मन्त्रालयले जनाएको छ।
यस वर्ष धानबाली लगाइएको क्षेत्रफल पछिल्लो चार वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो। धानको उत्पादनसँगै उत्पादकत्व पनि बढेको छ। “धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो।”
चाल आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ। उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिनटन प्रतिहेक्टरसहित अग्र स्थानमा र मधेश प्रदेश ३.४९ मेट्रिकटन प्रतिहेक्टरसहित पुछारमा रहेको छ। विगतका वर्षजस्तै मुख्य धानको तुलनामा चैते धानको उत्पादकत्व उच्च कायम भएको मन्त्रालयले जनाएको छ।
गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा र मधेश प्रदेश ऋणात्मकमा छ। चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बीउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कम बाढीपहिराबाट धानबालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ। मधेश प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएको कारणले मधेश प्रदेशमा धानको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको देखिएको हो।
सात वटै प्रदेशका कृषि मन्त्रालय, जिल्लागत रूपमा प्राप्त भएका प्रारम्भिक आँकडा र इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोग गरी धानबालीको तथ्यांक निकालिएको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
