हालसम्म फुटबल मैदानमा इरान र इङ्ल्यान्डको भेट भएको छैन। त्यसैले पनि इरान यो पहिलो भेटमा नै इतिहास लेखाउने तरखरमा हुनेछ भने इङ्ल्यान्ड तीन अंकको खोजीमा हुनेछ।
रसिया विश्वकप २०१८ मा गारेथ साउथगेटको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले राम्रो प्रदर्शन गर्ला भनेर थोरैले मात्रै विश्वास गरेका थिए। तर, युवा टोलीले भरिएको इङ्ल्यान्ड अनपेक्षकृत नतिजा निकाल्दै सन् १९९० पछि पहिलो पटक अन्तिम चारमा पुग्न सफल भयो। त्यसको तीन वर्षपछि भएको युरोकपमा इङ्ल्यान्ड उपविजेता बन्यो।
पछिल्ला दुई प्रतियोगितामा निकालेको अनेपक्षकृत नतिजाकै कारण इङ्ल्यान्डलाई २२औँ संस्करणको कतार विश्वकपको समूह ‘बी’ को बलियो टोलीको रूपमा लिइएको छ। यस समूहमा इरान, अमेरिका र वेल्स छन्।
इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा एशियाली राष्ट्र इरानको सामना गर्दै कतार विश्वकपको शुरूआत गर्ने छ। इङ्ल्यान्ड र इरानबीचको खेल नेपाली समयअनुसार सोमबार साँझ ६:४५ बजेबाट शुरू हुनेछ।
पछिल्लो दुई संस्करणमा अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याए पनि साउथगेटको टोलीमाथि यसपटक भरोसा गरिहाल्ने स्थिति छैन। सन् १९६६ पछि पहिलो पटक युरो कप २०२० मा फाइनल पुगेर पनि पेनाल्टी सुटआउटमा इटालीसँग ३-२ ले पराजित हुँदै इङ्ल्यान्डले उपाधि जित्ने मौका गुमाएको थियो।
वेम्बली स्टेडियममा भएको फाइनल खेलमा इङ्ल्यान्डले दोस्रो मिनेटमै डिफेन्डर लुक शाको गोलमार्फत अग्रता लिएको थियो। तर, घरेलु मैदानको फाइदा उठाउँदै विपक्षी टोलीविरुद्ध लगातार दबाब सिर्जना गर्न भने इङ्ल्यान्डले सकेन। यही मौकाको फाइदा उठाउँदै ६७औँ गोलरक्षक जोर्डन पिकफर्डले बचाउने क्रममा पोलमा लागेर फर्किएको बललाई लिओनार्दो बोनुचीले 'फस्ट टच'मा जाली चुमाए।
त्यसयता इङ्ल्यान्डको प्रदर्शन लगातार खस्किरहेको छ। पछिल्लो १२ महिनाको नतिजाले पक्कै पनि इङ्ल्यान्डको प्रदर्शनमाथि प्रश्न उठाएको छ। जर्मनी, इटाली र हंगेरीविरुद्धको ६ खेलमध्ये कुनै पनि जित्न नसकेपछि इङ्ल्यान्ड विश्वकपअगाडि आयोजना भएको नेसन्स लिगबाट रेलिगेसनमा परेको छ।
प्लेयर टु वाच
सन् २०१५ मा सिनियर टोलीमा उक्लिएका स्टार फरवार्ड ह्यारी केन इङ्ल्यान्डका कप्तानसमेत हुन्। हालसम्म ७५ खेलमा ५१ गोल गरेका उनी राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्।
उनी वायन रोनीको कीर्तिमानी ५३ गोलभन्दा मात्र दुई गोलले पछि छन्। यस विश्वकपमा उनलाई विश्वकपमा ‘गोल्डेन बुट’का मुख्य दाबेदार मानिएको छ। २१औँ संस्करणको विश्वकपमा उनले ६ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए। इङ्लिस प्रिमियर लिग टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्दै आएका केनले यस सिजन भएका १५ खेलमा १२ गोल गरेका छन् भने एक गोलका लागि अवसर सिर्जना गर्दिएका छन्।
पछिल्लो नतिजाहरूले भने इङ्ल्यान्ड तुलनात्मक रूपमा कमजोर रहेको देखिन्छ। मुख्य प्रशिक्षक साउथगेटलाई कतार विश्वकपमा अघिल्ला खेलहरूमा देखिएको कमीकमजोरी सुधार गर्दै उत्कृष्ट नतिजा दिलाउनुको कुनै विकल्प छैन। त्यसैले कतार विश्वकपमा उनले 'ब्याक थ्री' या 'ब्याक फोर'को साथ रक्षा पङ्क्ति बलियो बनाउने अपेक्षा गरिएको छ। यसका साथै उनले चुस्त मिडफिल्ड र बलियो आक्रामक लाइन बनाउनुपर्ने छ।
यसको शुरूआत इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा इरानबाट नै गर्ने छ। किनभने इरानविरुद्धको तीन अंक इङ्ल्यान्डलाई अघिल्लो चरणमा पुर्याउन सहयोगी साबित हुनेछ।
इरानको लक्ष्य दोस्रोचरण
कार्लोस क्विरोजको प्रशिक्षणमा रहेको इरान पनि पहिलो खेलमा बलियो टोली इङ्ल्यान्डविरूद्ध जितको खोजीमा छ। इरानले उत्कृष्ट क्वालिफाइङ दौडका बाबजुद जुलाईमा मुख्य प्रशिक्षक ड्रागन स्कोसिकलाई बर्खास्त गरेर कार्लोसलाई विश्वकपका लागि नियुक्त गरेको थियो।
चाखलाग्दो कुरा के छ भने, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्ग्युसनका सहायक कार्लोसले विश्वकप २०२२ छनोटअगाडि दुई टोली कोलम्बिया र इजिप्टलाई प्रशिक्षण दिइसकेका छन्। उनले सन् २०१९ र २० मा कोलम्बियाको टोलीलाई प्रशिक्षण दिएका थिए। त्यसपछिका एक वर्ष भने उनले इजिप्टको टोली सम्हाले। तर, यी दुई टोली नै कतार विश्वकपको लागि छनोट हुन सकेनन्। तर, उनी यसपटक इरानी टोलीसँग कतारमा हुनेछन्।
इरानका खेलाडी सरकार विरोधी प्रदर्शनमा संलग्न थिए। यद्यपि, इरानी सरकारले टोलीका खेलाडीको सम्पूर्ण ध्यान विश्वकपमा क्रेन्द्रित गर्ने प्रयत्न गरिरहेको छ। पहिलो खेलमा नै बलियो टोली इङ्ग्यान्डविरूद्ध खेल्न लागेको इरान नकआउट चरणमा पुग्ने लक्ष्य बोकेको छ।
प्लेयर टु वाच
‘इरानी मेसी’ भनेर चिनिने २७ वर्षे फरवार्ड सरदार अजमोन इरानका मुख्य हतियार हुन्। जर्मन क्लब बायर लेभरकुसेनबाट व्यावसायिक फुटबल खेल्दै आएका उनलाई इरानका महान् फरवार्ड तथा सर्वाधिक गोलकर्ता अलि दाइसँग पनि तुलना गरिन्छ।
राष्ट्रिय टोलीबाट खेल्दा उनले प्रत्येक तीन खेलमा औसत दुई गोल गर्दै आएका छन्। सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ६१ खेलमा ४१ गोल गरिसकेका छन्। रुसका तीन क्लबबाट खेलेपछि उनी यसै वर्ष जर्मनी पुगेका थिए।
च्याम्पियन्स लिगअन्तर्गत पोर्टसँगको खेलअघि वार्मअपमा उनले चोट बोक्न पुगेका उनी टिममा फर्किसकेका छन्।
मैदानमा पहिलो भेट
सन् १९७८ मा अर्जेन्टिनामा आयोजना भएको विश्वकपमा डेब्यू गरेको इरानले त्यसयता चार पटक (१९९८, २००६,२०१४ र २०१८) प्रतियोगितामा सहभागिता जनाइसकेको छ। तर, इरानले समूह चरण पार गर्न सकेको छैन।
हालसम्म इरानको भेट फुटबलमा कहीँकतै इङ्ल्यान्डसँग भएको छैन। त्यसैले पनि इरान यो पहिलो भेटमा नै इतिहास लेखाउने तरखरमा हुनेछ। इरानलाई राउन्ड अफ-१६ मा पुग्न अंक तालिकामा वेल्स र अमेरिकाभन्दा माथि पुग्नुपर्नेछ।
स्कोकिकको नेतृत्वमा इरानले एशिया छनोटको अन्तिम १० खेलमा ४ गोल मात्र खाएको छ। यद्यपि, कतारमा बलिया टोलीसामु इरान शतर्क हुनेछ।
लेभरकुसेनबाट खेल्ने सरदार अजमोन र पोर्चुगल क्लब पोर्टोका मेहदी तारेमी इरानका मुख्य खेलाडी हुन्। सरदारले यस सिजन जर्मन क्लबबाट १७ खेलमा एक गोल मात्रै गर्न सकेका छन्। यता, मेहदीले यो सिजन पोर्टोका लागि १९ खेलमा १३ पटक गोल गरेका छन्। यी दुई खेलाडीको उपस्थितिले इरानको विपक्षी टोलीलाई समस्यामा पर्न सक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
