आप्रवासीबारे विवाद बढेपछि फ्रान्सेली प्रधानमन्त्रीको राजीनामा

विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको छ।

तस्वीर: रोयटर्स

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले पदबाट राजीनामा दिएकी छन्।

विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो। सोही कारण प्रधानमन्त्री बोर्नले राजीनामा दिएको समाचार संस्था रोयटर्सले लेखेको छ। 

राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

म्याक्रोन दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि २०२२ मेमा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनी फ्रान्सको दोस्रो महिला प्रधानमन्त्री थिइन्। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म बोर्नले कामचलाउ सरकारको रूपमा काम गर्ने जनाइएको छ।