महोत्तरीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जलेश्वर– महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थलहीका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेको महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। 

सोमबार राति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भंगहा–५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन्। 

उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै दुर्घटनामा परेका थिए। 

तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापश्चात् गम्भीर घाइते दुवैलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएको थियो। अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनीहरूको मृत्यु भएको हो।