चिसो बढेपछि खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन  योजनालगायतका काम रोकिएका छन्।

सल्लेरी– सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ। अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माण रोकिएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।  

उनका अनुसार मंसिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो। “खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँले ढाकेको छ। त्यसैले विकास निर्माणमा कंक्रिटका काम सबै ठप्प छ,” उनले भने, “हिउँ नपग्लेसम्म काम शुरू हुने अवस्था छैन।” रोकिएका योजनाको काम फागुन तेस्रो साताबाट शुरू हुने उनले सुनाए। 

हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन  योजनालगायतका काम रोकिएको वडा कार्यालयले जनाएको छ। ती योजना कतिपय अन्तिम चरणमा पुगिसकेका छन्। केही भर्खरै शुरू भएका योजना रहेको वडा सदस्य ङिमायांजी शेर्पाले जानकारी दिए। पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले सो क्षेत्रमा विकास निर्माणले गति लिन नसक्ने सदस्य शेर्पाले बताए। 

सामान्यतया देशका अन्य स्थानमा आर्थिक वर्षको शुरूआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन्। तर हिमाली क्षेत्र खुम्बुमा भने आर्थिक वर्ष नै विकासको बाधक बन्ने गरेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए। सरकारी बजेटको सामान्यतया भदौ–असोजमा मात्रै अख्तियारी आउने गरेको छ। कात्तिकबाट चिसो शुरू हुने भएकाले आयोजनामा सिमेन्ट प्रयोग गर्न समस्या भएका कारण निर्माण प्रभावित हुने गरेको उनको भनाइ छ।

माथिल्लो क्षेत्रमा विकासका योजनाको काम फागुन अन्तिम साताभन्दा अघि थाल्न नसकिने हुँदा आफूहरूका लागि आर्थिक वर्ष नै विकासको बाधक भएको गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउँछन्। फागुन अन्तिमबाट शुरू हुने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताए।