बचतकर्ताको १ अर्ब हिनामिना गरेको अभियोगमा सहकारी सञ्चालक पक्राउ

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकात्मक तस्वीर

काठमाडौँ– बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्। 

सहकारीका अध्यक्ष गोकर्णेश्वर नगरपालिका–४ चौताराका हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन्। सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ। बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए। 

सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अंग्रेजी माविका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ। यी सबैका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। 

सहकारी सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड रुपैयाँ हिनामिना गरेको पीडित संघर्ष समितिका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए।