वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै ऋण दिने व्यवस्था गरौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। 

मंगलबार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा उनले युवाहरू मिटरब्याजी र दलालबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। 

“सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला,” उनले भने, “श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला।”

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएका छन्। 

यस्तै, प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएका छन्।