२०.६२ अंकले बढेको नेप्सेमा ८ कम्पनीको शेयर मूल्यमा सर्किट

मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६२ अंकले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक एक प्रतिशतले बढेर २०८०.१२ अंकमा कायम भएको छ।

३०९ कम्पनीको एक करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर एक लाख चार हजार ६१९ पटक खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। मंगलबार जलविद्युत् समूह ०.४५, उत्पादन तथा प्रशोधन समूह ०.०४ र म्युचुअल फन्ड समूह ०.१५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह ५.२१ र होटल तथा पर्यटन समूह ३.६४ प्रतिशतले बढेका छन्।

मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.१९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २१ करोड ४९ लाख ४५ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडको आठ लाख ५१ हजार ५० कित्ता शेयर किनबेच भएको छ।