कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।
गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका–३ अधिवाराका मोतीराज गौतमले मालिका कागज उद्योग सञ्चालन गरेका छन्। उनी माघदेखि जेठसम्ममा दैनिक ६ देखि ७०० र असोजदेखि पुससम्ममा दैनिक ३ देखि ४०० ताउसम्म नेपाली (हाते) कागज उत्पादन गर्छन्।
स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्छ। तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकेको छैन। हाते कागजको बजारमा अत्यधिक माग रहेको गौतमले बताए।
उनका अनुसार बजारमा जापनिज प्रविधिबाट उत्पादित कागज स्थानीय हाते प्रविधिबाट बनाइएको कागजभन्दा सस्तो छ। तर, गुणस्तरमा स्थानीय कागज, जापनिज प्रविधिको भन्दा ७५–८० प्रतिशत सुरक्षित र बलियो हुने सञ्चालक गौतमको भनाइ छ। “जापनिज प्रविधिको कागजसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताको संकलन गर्न कानूनी प्रक्रिया पूरा गर्न पनि झन्झटिलो हुन्छ,” उनले भने।
यस उद्योगमा समयानुसार विभिन्न साइजका कागजको माग हुने गर्छ। कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्ने छ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजको माग बढी हुने गरेको उद्योग सञ्चालक गौतमले बताए। भने, “मागका आधारमा हालको उत्पादनले पूर्ति गर्न सकिएको छैन। विशेषगरी १८–२० ग्राम र छ–सात ग्रामको कागज माग बढी छ। माग पूरा गर्न सकिएको छैन।”
उद्योगमा चुनौती धेरै छन्। नियमित कच्चा पदार्थ (लोक्ता) अभाव हुन्छ। बाह्रै महिना उत्पादन गर्न सकिँदैन। वर्षा र हिउँदमा पनि घाम नलाग्दा, पानी पर्दा उत्पादन गर्न सकिँदैन। जसका कारण कामदार टिकाउन समस्या हुन्छ। उद्योगको दैनिक एक हजार २०० देखि एक हजार ५०० ताउसम्म कागज उत्पादन गर्नसक्ने क्षमता छ।
स्थानीय प्रविधिबाट नेपाली कागज उत्पादन गर्दा उत्पादन खर्च महँगो भए पनि जिल्लाको पहिचान र स्थानीय उत्पादनको संरक्षणका लागि यो उद्योगलाई निरन्तरता दिइरहेको गौतमको भनाइ छ। “स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको संकलन गर्न सरल नीति बनाइदिने हो भने म्याग्दीमा नेपाली कागज उद्योगको राम्रो सम्भावना छ,” उनले भने।
उनको उद्योगमा अहिले प्रत्यक्ष चारजना र अप्रत्यक्ष १० जनाले रोजगारी पाइरहेका छन्। म्याग्दीको माथिल्लो पहाडी भेग (तीन हजारदेखि तीन हजार २०० मिटरको उचाइ) मा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन्। तर त्यसबाट लोक्ता (पुवा) निकाल्ने कामदारको अभाव छ। उद्योग, कामदार र खेर जाने यस्ता वन पैदावारलाई प्रोत्साहन गर्न कतैबाट पहल नभएको उनको गुनासो छ।
२०७५ सालमा स्थापना भएको यस उद्योगले अहिले कार्यालयमा चाहिने ‘एफोर’ साइजको कागज उत्पादन गर्न थालेको छ। कागजको माग बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायत शहरबाट आउने गरेको छ। एउटा मात्र उद्योग भएका कारण माग भएजति उत्पादन गर्न सकेका छैनन्। उद्योगमा नेपाली कागजका अतिरिक्त नोटबुक, फाइल, हलुका र रंगीन वस्तु पनि निर्माण गर्ने गरिएको छ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगंगाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन्। तर ती उद्योग सञ्चालनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग नगरेको सञ्चालक गौतमको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
