खोटाङबाट ३६ करोडभन्दा बढीको सुन्तला बिक्री

खोटाङमा यस वर्ष ८१० हेक्टरमा लगाइएको बगानबाट तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

खोटाङ– खोटाङमा यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। यस वर्ष ८१० हेक्टरमा तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार सबैभन्दा बढी जन्तेढुंगा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ। “जिल्लामा अहिले ७४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ। गत वर्षको तुलनामा यस वर्ष १० मेट्रिक टन बढी उत्पादन भएको छ,” उनले भने, “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ। किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिक खेती गर्नेको संख्या पनि बढ्दै गएको छ।”

जन्तेढुंगा–६ दिप्लुङबाट मात्रै यस वर्ष एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय जगत राईले बताए। “हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायत ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ। यस वर्ष एक करोडभन्दा बढीको निकासी गरेका छौँ,” उनले भने, “कसैले आफैँले बजारसम्म पुर्‍याएर बिक्री गरे। कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन्। मैलेचाहिँ सुनसरीको इटहरी, उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायत बजार लगेर छ लाख रुपैयाँको बेचेँ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा–५ चिसापानीस्थित घोर्ले गाउँबाट एक करोड बढीको सुन्तला बिक्री भएको स्थानीयले बताएका छन्। उक्त वडाको वाचिपाला, खुटालगायत गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला बिक्री भएको जनाइएको छ। जन्तेढुंगा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने भएकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिए। जन्तेढुंगामा लगाएको सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको उनले सुनाए।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्‍याएकाले गत वर्षको तुलनामा आधामात्र उत्पादन भएको छ। कुँवरले गत वर्ष नौ लाखको सुन्तला बेचेका थिए। आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकिलो ११० देखि १३० सम्ममा बिक्री भइरहेको उनले बताए। “यस वर्ष सुन्तलाबाट कम्तीमा पनि २० लाख कमाउने योजना थियो तर, असिनाले खत्तम गरिदियो। १३० बोटले उत्पादन दिन थालेको छ,” उनले भने, “अर्को वर्ष अरू बोटले पनि उत्पादन दिन्छ। अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सजिलो र बढी आम्दानी दिने भएकाले यस वर्ष थप ४०० बोट बिरुवा रोप्ने योजनामा छु।”

रावाबेँसी गाउँपालिकामा पनि यस वर्ष सुन्तला उत्पादन राम्रै भएको स्थानीय किसान राजबहादुर मगरले बताए। “सुन्तलाबाट आएको आम्दानीले वर्षभरि माछा–मासु खान र घर खर्च पुग्छ। यसअघि रोगले गर्दा धेरै क्षति भएको थियो,” उनले भने, “केही वर्षदेखि बगानमा देखिएको रोग गत वर्ष नियन्त्रण गर्ने प्रयास गरेका थियौँ। केही हदसम्म सफल पनि भएका छौँ।”

जिल्लाका अन्य स्थानीय तहका किसानले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यातायातको सुविधा भएपछि बजारसम्मको सिधा पहुँच विस्तार भएसँगै सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिए। जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, विराटनगर, काठमाडौँलगायत शहरमा निर्यात हुने गरेको छ। जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन्। 

सुन्तलाको बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए। “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्रले पनि सहयोग गरिरहेको छ,” उनले भने।