भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा–रुवेलाविरुद्ध खोप

सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले सरकारले खोप अभियान सञ्चालन गरेको हो। 

फाइल तस्वीर

जाजरकोट–भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुवेला र टाइफाइडविरुद्ध खोप कार्यक्रमअन्तर्गत जाजरकोटमा एक लाख ४० हजार ८९१ जनाले खोप लगाएका छन्।  

पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानमा छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार ३४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन्। त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार ५४७ जनाले टाइफाइडविरुद्ध खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ। जिल्लाका ४८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो। आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा खोप अभियान सञ्चालन गरेको हो।

सामान्य अवस्थामा दादुराको समस्या फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ। 

गत वर्ष जाजरकोटमा दादुराको संक्रमण देखापरेको थियो। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गरिरहेको छ। सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै अभियान सञ्चालन गरेको जानकारी दिए। 

दादुरा–रुवेला, टाइफाइडजस्ता समस्या फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमको भनाइ छ।