रौतहटका ३ पालिकामा धर्ना र तालाबन्दी, सेवा प्रभावित

गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह ठप्प बनेको छ। 

रौतहट– रौतहटका तीन स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन गरेपछि सेवाग्राही मारमा परेका छन्। 

गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा अवरोध गरेपछि सेवा ठप्प बनेको छ। 

कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विभिन्न ८ बुँदाको माग राख्दै सोमबारदेखि वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायत टोलीले तालाबन्दी गरेको हो। 

कर्मचारीको छुट्टाछुटै कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन। घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खटिँदै आएका कर्मचारी, डोर, करार, सफाइकर्मी सबैको बाँकी तलब भुक्तानी गर्नुपर्ने माग अघि सारेका छन्।

त्यसैगरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, खर्च गर्नुअघि त्यसको प्रस्ताव कार्यपालिका बैठकबाट सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। 

पुस १८ गते बसेको कार्यपालिका बैठकमा उक्त विषयबारे जानकारी माग्दा नगरप्रमुख अजय प्रकाश जैसवालले २३ गतेको कार्यपालिका बैठकमा पेश गर्ने प्रतिबद्धता जनाएका थिए। तर, पेश नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उपप्रमुख यादवको भनाइ छ।

उता, गरुडा नगरपालिकामा पनि उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्ना जारी छ। उनीहरू पुस २० गतेदेखि कार्यपालिकाको मुख्य गेटमा ६ बुँदे माग राखेर धर्नामा बसेका छन्। यसले कार्यालयको काम प्रभावित भएको छ। नागरिकलाई सास्ती भएको छ। 

कार्यपालिकाको नियमित बैठक गर्नुपर्ने, नगरसभाका निर्णय सार्वजनिक गर्नुपर्नेलगायत मागसहित जनप्रतिनिधि नै आन्दोलित भएका हुन्। 

यसैबीच, लामो समयदेखि तलब नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि आन्दोलित छन्। कर्मचारी तथा जनप्रतिनिधिको आपसी विवादका कारण साउनदेखि तलब नपाएको उनीहरूको गुनासो छ। 

जनप्रतिनिधिबीच विवाद हुँदा फतुवा विजयपुरमा नगरसभा नै हुन सकेको छैन। नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले नगरसभा गर्नका लागि पटक–पटक बैठक आह्वान गरे पनि हुन नसकेको जनाए।