लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ।
काठमाडौँ– लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी निर्वाचित कार्यसमितिको पहलमा नवीकरण भएको छ। यही पुस १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ। यससँगै संस्थाले कानूनी वैधता प्राप्त गरेको छ।
नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन। आव २०८०/०८१ सम्मका लागि संस्था नवीकरण भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए। उनले संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको बताए।
नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित बनेको थियो। विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन। स्थापनाकालदेखि वैधानिक दायित्व पूरा गर्दै अघि बढिरहेको नेपाल रेडक्रसको २०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्थाले कानूनी वैधता गुमाएको थियो।
केन्द्रीय कार्यसमितिको निर्वाचन हुन नसकेको अवस्थामा नेपाल सरकारबाट पटक–पटक तदर्थ समिति गठन भए पनि उक्त समितिले अधिवेशन गर्न सकेको थिएन। रेडक्रसप्रेमीको साझा प्रयत्नबाट गत साउन २ र ३ गते सम्पन्न विशेष महाधिवशेनले प्रा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठूलो उपलब्धिका रूपमा रहेको अध्यक्ष नेपाल बताउनुहुन्छ। यसबीचमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि सम्बन्ध प्रगाढ बन्दै आएको उनको भनाइ छ।
“चार/पाँच वर्षदेखि बिग्रेको अन्तर्राष्ट्रिय सम्बन्ध निर्वाचित कार्यसमिति आएपछि धेरै सुधार हुँदै गएको छ,” नेपाल रेडक्रसका अध्यक्ष नेपालले भने, “संस्थाका बारेमा केही अन्योलता देखिए प्रष्ट पार्दै जान्छौँ।” अहिले नेपाल रेडक्रसमा कुनै पनि विवाद नरहेको जिकिर गर्दै उनले संस्थाको विधान र राज्यका कानूनलाई आत्मसात् गरेर अघि बढिने बताए।
नयाँ कार्यसमितिले अघिल्ला तीन वर्षको लेखा परीक्षण सम्पन्न तथा आव २०८०/०८१ सम्मको वार्षिक प्रतिवेदन तयार गरेको छ। यसबीचमा वार्षिक साधारणसभा सम्पन्न, आव २०७९/८० सम्मको करचुक्ता प्रमाणपत्र प्राप्त, गत मंसिर मसन्तसम्म समाज कल्याण परिषद्मा बुझाउनुपर्ने दायित्व भुक्तानी गरिएको रेडक्रसले जनाएको छ।
नेपाल रेडक्रसको विधानलाई समावेशी बनाउने उद्देश्यका साथ मौजुदा विधान र नियमावलीलाई समयसापेक्ष परिमार्जन गरी सेवा प्रवाहमा सुधार ल्याइने रेडक्रसले जनाएको छ। रेडक्रसले आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने तयारी गरेको छ।
विसं २०२० भदौ १९ गते स्थापना भएका नेपाल रेडक्रस सोसाइटी मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी निकाय र समुदायको नजिकको संस्थाका रूपमा रहेको छ। रेडक्रसले विपद् व्यवस्थापन तथा प्रतिकार्य, सामुदायिक स्वास्थ्य सेवा, रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहार, पर्यावरणीय संरक्षण, जनचेतना अभिवृद्धि, अन्तर्राष्ट्रिय कानूनको प्रवर्द्धन, शान्ति र मानवीय मूल्यको प्रवर्द्धनलगायतका मानवीय सेवाका कार्य गर्दै आइरहेको छ।
नेपाल रेडक्रसका सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार पाँच सय ६४ उपशाखा तथा ६ हजार ८३२ जुनियर युवा रेडक्रस सर्कलमा १२ लाख बढी स्वयंसेवक आबद्ध छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
