सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो।

काठमाडौँ– विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने  बैंकले जनाएको छ।

औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएकोे हो। लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन  गरिएको हो।

अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो।

मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ। विश्वको अर्थतन्त्र सन् २०२४ मा २.४ प्रशितमा खुम्चिने अनुमान गरिएको छ।

सन् २०२१ मा विश्व अर्थतन्त्र ६.२ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३ प्रतिशत पुगेको थियो। सन् २०२३ मा २.४ प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष त्यही अनुपातमा झर्ने अनुमान गरिएको छ।