लगातारको हुस्सु र कुहिरोसँगै बढेको जाडोले जनजीवन कष्टकर बनेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू बढी प्रभावित भएका छन्।
सुदूरपश्चिम– शीतलहरसँगै बढेको चिसोले कैलाली र कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ।
लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू बढी प्रभावित भएका छन्।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिक स्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ।
तरकारी बालीमा डढुवाको जोखिम
शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडालगायत तरकारी बालीमा समस्या देखिएको छ। “तीन दशक अघिसम्म यस्तो समस्या थिएन,” कैलालीका किसान नारायण चौधरीले भने, “आलु र गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ।” जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनको अनुभव छ।
किसान वीरबहादुर चौधरीले भने, “पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडा बालीमा छर्किन थालेका छन्। पैसाको अभावमा औषधि छर्किन नपाउनेले बालीले दिने उत्पादनको आसा मारेका छन्।” यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायत तरकारी बालीको खेती गरेका पनि छन्। टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ।
प्रत्येक सात/आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ। हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडालगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ। एउटै बालीमा पटक पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ। पटक पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरूको छ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आर्द्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको संक्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन्। यो रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ।
लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडालगायत बालीमा डढुवा संक्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्माले बताए। डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुरको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल घट्दै गएको किसानको अनुभव छ। ढुसीको संक्रमणले तोरीबालीमा पनि असर पुर्याउने गरेको छ।
डढुवा रोगको समस्या बढ्दै जाँदा तोरी खेती गरिने क्षेत्रफल पहिलेको तुलनामा ह्वात्तै घटेको किसानको भनाइ छ। “२०५४ सालसम्म दुई बिघामा तोरी लगाउँथ्यौँ,” चौधरीले भने, “त्यसपछिका वर्षमा भने डढुवा रोगको समस्या बढ्दै जाँदा यो बाली लगाउन छाड्नुपर्यो।”
ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँ खेती गरेर चित्त बुझाइरहेका छन्। छाडा छाडिएका पशु चौपायाले खेतबारीको बाली नष्ट गर्दा बाली जोगाउन किसानले अर्को समस्या बेहोर्नुपरेको छ।
मौसममा भइरहेको परिवर्तनका कारण समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसममा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको संक्रमणको समस्याका साथै मित्रजीव भन्दा शत्रुजीवको समस्या बढ्न थालेको कृषि प्राविधिक शर्माले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
