शेख हसिना चौथो कार्यकालका लागि बांग्लादेशको प्रधानमन्त्री नियुक्त

आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिटमा जितेको थियो।

अवामी लीगकी नेतृ शेख हसिना लगातार चौथो कार्यकालका लागि बंग्लादेशको प्रधानमन्त्री नियुक्त भएकी छन्।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले हसिनालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेको थियो। 

हसिनाले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद्को शपथ लिएकी थिइन्। निर्वाचन आयोगले मंगलबार घोषणा गरेको परिणामअनुसार आवामी लीगले संसद्को ३०० सिटमध्ये २२२ सिट जितेको छ। 

हसिना आफ्नो संसदीय क्षेत्र गोपालगन्ज–३ मा भारी मतान्तरले विजयी भएकी थिइन्। उनले दुई लाख ४९ हजार ९६५ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी एम निजाम उद्दिन लस्करले ४६९ मत मात्र प्राप्त गरेका छन्। 

हसिना सन् १९८६ यता आठौँ पटक गोपालगन्ज–३ बाट निर्वाचित भएकी हुन्। यससँगै हसिनाले सबैभन्दा लामो समय बांग्लादेशको प्रधानमन्त्री बन्ने कीर्तिमान पनि बनाएकी छन्।