बालविवाह रोक्न ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

विवाह गर्नु पहिला नै लाइसेन्स लिने व्यवस्था गर्न सके बालविवाह, विवाहको प्रलोभनमा पारी हुने मानव बेचबिखन अन्त्य हुने कांग्रेस नेता राणाको भनाइ छ।

काठमाडौँ– नेपाली कांग्रेस नेता एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्। 

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्। 

विवाह गर्नु पहिला नै लाइसेन्स लिने व्यवस्था गर्न सके बालविवाह तथा विवाहको प्रलोभनमा पारी हुने मानव बेचबिखन अन्त्य हुने उनको भनाइ छ।

“विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो। त्यो बेला नागरिकता हुनैपर्‍यो। यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ। विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ,” उनले भनिन्।

उनले यसका लागि वडा तहदेखि कानून तथा नीति बनाउन आवश्यक रहेको बताइन्। उनले अन्य धेरै देशहरूमा विवाहअगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि जिकिर गरिन्। बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृति रोक्नका लागि कानून नै एक मात्र विकल्प हुनसक्ने उनको भनाइ छ।

उनले पहाडी जिल्लामा विद्यालय अध्ययनताका नै विद्यार्थीले विवाह गर्ने गरेको उल्लेख गर्दै कम उमेरमा हुने विवाह न्यूनीकरणका लागि आवश्यक अभिमुखीकरण दिन सुझाव दिइन्।