ज्ञानेन्द्र प्रशिक्षक र रोहित कप्तानको जिम्मेवारीमा फर्किए एपीएफ

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एपीएफ फर्किएका छन्। 

फाइल तस्वीर

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एपीएफ फर्किएका छन्। 

सन् २०१९ देखि २०२० सम्म एपीएफबाट व्यावसायिक क्रिकेट खेल्दै कप्तानीसमेत गरेका मल्ल प्रशिक्षकको रूपमा फर्किएका हुन्। यता, २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता जिताएका पौडेल कप्तानको भूमिकामा फर्किएका हुन्।

शनिबारबाट शुरू हुने प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा उनीहरूलाई सो जिम्मेवारी दिँदै क्लबमा फर्काएको एपीएफले जनाएको छ। मल्लले गत साउन १९ गते क्रिकेट करिअरबाट संन्यास लिएका थिए। खेलाडी जीवनमा पूर्णविराम लगाएको जानकारी दिँदै एउटा फरक यात्राको आरम्भ गर्ने घोषणा गरेका थिए। सोहीअनुसार उनले अघिल्लो महिना मात्रै ‘आईसीसी लेभल–टू’ कोचिङ कोर्स गरेका थिए।

यसअघि एपीएफको मुख्य प्रशिक्षकको जिम्मेवारीमा राजेश श्रेष्ठ थिए। मल्लसँग नेपाली राष्ट्रिय टोलीको कप्तानी र उपकप्तानी गरेको अनुभव छ। सन् २००९ मा पारस खड्का कप्तान बन्दा मल्ल उपकप्तान थिए। २०१९ मा खड्काले कप्तानी छाडेपछि उक्त जिम्मेवारी मल्लले सम्हालेका थिए। उनी क्रिकेट एक्सिलेन्स सेन्टरको प्रशिक्षक पनि हुन्।

यस्तै, राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पौडेल अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट एपीएफ पुगेका हुन्। आर्मीको कप्तानी विनोद भण्डारीले गरिरहेका थिए। नयाँ जिम्मेवारी प्राप्त भएसँगै पौडेल आर्मी छाडेर एपीएफ पुगेका हुन्।

शरद भेष्वाकरले एपीएफ छाडेपछि प्रदीप ऐरीले कप्तानी सम्हालेका थिए। उनकै कप्तानीमा रहेको एपीएफ गत पुस १५ गते सम्पन्न प्रो क्लब च्याम्पियनसिपमा मैदान उत्रिएको थियो। तर, दुई खेल मात्रै जितेको एपीएफ समूह चरणबाटै बाहिरियो।

एपीएफमा आशिफ शेख, प्रदीप ऐरी, लोकेश बम, सन्दीप जोरा, अविनाश बोहरा र मौसम ढकाल रहेका छन्। उनीहरू राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी हुन्। एपीएफले प्रधानमन्त्री कपको पहिलो खेल आइतबार बागमती प्रदेशसँग खेल्ने छ। यद्यपि, एपीएफले आफ्नो टोली घोषणा गरिसकेको छैन।

बागमतीले भने ऋत गौतमको कप्तानीमा टोली घोषणा गरिसकेको छ। टोलीमा इशान पाण्डे, प्रतीश जीसी, सूर्य तामाङजस्ता राष्ट्रिय टोलीमा परिसकेका खेलाडी छन्।