पशुपालक घटेपछि उराठ बने खर्क, परम्परागत पेसा नै धरापमा

बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन हो। युवा विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पेसा धान्दै आएका छन्। हरेक वर्ष पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ।

ढोरपाटन– १० वर्षअघि बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे। एकै परिवारले १०० देखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो। गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्टाउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्। 

खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो। युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन्। हरेक वर्ष भेडापालन गर्ने किसानको संख्या घट्दै गएको छ। भेडाबाख्रा पालेरै परिवार धान्नेलाई बुढेसकालले छोयो। नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ।

तमानखोला गाउँपालिका–५ खुंखानीका रनबहादुर सिर्पालीले भेडापालन थालेको ६५ वर्ष बित्यो। ७३ वर्षको उमेरमा पनि उनले २५० भन्दा बढी भेडाबाख्रा पाल्दै आएका छन्। बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले निरन्तरता दिएका हुन्। १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच/सात घर मात्रै यो पेसामा रहेको उनको भनाइ छ। अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाए। घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जंगल जानुको सट्टा बजार झर्ने गरेको उनको भनाइ छ।

“हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो। तर गइएन। वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि लेकबेँसी गरिरहेका छौँ,” सिर्पालीले भने, “हामीभन्दा पाका मान्छे बितिसके। युवा केटाकेटी बजारमै बस्न खोज्छन्। विदेश जान्छन्। हाम्रो परानपछि गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन्।”

ढोरपाटन नगरपालिका–९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आएका छन्। बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन। १५० भेडाबाख्रा पाल्दै आएकामा अहिले घटाएर ५० हाराहारीमा मात्रै छन्। १० वर्षपहिले करिब ३० घर स्थानीय पशुपालनमा आबद्ध भए। अहिले घटेर निकै कम भएको विकले सुनाए। दशकौँदेखि पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बिकले बताए। 

“भेडाबाख्रा पाल्ने, वनजंगल गर्ने त टाढैको कुरा भयो। गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्। हाम्रो पालामा छ/सात दिन लगाएर खर्क जान्थ्यौँ। रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे। डाँडापाखा सबै भेडाले ढाकिन्थे। अहिले त पहिलेको जस्तो खर्क रमाइलो छैनन्”

तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअंगालेकामा निराश छन्। खर्क र उराठिलो बनेका बुकीले पशुचौपायालाई कुरिरहेका छन्। तर नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याएको दाबी गर्छ। त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको संख्या घट्दै गएको बताए। केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ।

बागलुङमा हाल एक लाख ५० हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बंगुरलगायत पशुचौपायाा रहेको प्रमुख डा. सापकोटाले बताए।