व्यावसायिक मौरीपालनमा रोङका किसान, ‘हनी बैंक’ स्थापनाको तयारी

इलामको रोङ गाउँपालिकाका करिब ९०० किसान मौरीपालनमा आबद्ध छन्। ‘हनी बैंक’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा स्थानीयको आकर्षण बढेको पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए।

इलाम– इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन्। 

पालिकाका करिब ९०० किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए। पालिकाले मह उत्पादनमा एक करोड लगानी गरेको छ। ‘हनी बैंक’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको उनले बताए। 

रोङ– १ शिरिसेका पदम  राईले आठवटा आधुनिक घार र १७ वटा परम्परागत मुडे घारमा मौरीपालन गरेका छन्। उनले आधुनिक एक घार बराबर एक पटकमा १० किलो र एउटा मुडे घारबाट तीन किलो मह उत्पादन गरिरहेका छन्। “चैत–वैशाख र मंसिरमा गरी वर्षमा दुई क्विन्टल मह उत्पादन भइरहेको छ,” उनले भने, “स्थानीय बजारमा प्रतिकिलो एक हजार ५०० देखि एक हजार ८०० रुपैयाँसम्ममा मह बिक्री हुने गरेको छ।”

महभन्दा धेरै त मौरीको गोला बिक्री गर्ने गरेको उनले बताए। गोलालाई दुई हजारदेखि तीन हजार र रानी मात्र लैजानेलाई एक हजार रुपैयाँ पर्छ। गोला बिक्री गर्नेको मह कम उत्पादन हुने उनको भनाइ छ। 

गाउँपालिकाले किसानलाई गुणस्तरीय मह उत्पादन र घार व्यवस्थापन गर्ने तालिम दिएको छ। “अनुदानमा घार उपलब्ध गराएका छौँ,” गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, “वडावडामा मौरी सञ्जाल गठन गरेर, पालिकास्तरीय सञ्जाल बनाइसकेका छौँ। अब हनी बैंकको विकास गर्ने तयारी छ।”

उनका अनुसार हनी बैंकमा किसानले उत्पादन गरेका गुणस्तरीय मह संकलन गरिन्छ। त्यसको निश्चित प्रतिशत उत्पादनपश्चात् अनुदानको व्यवस्था गरिदिने गाउँपालिकाको योजना छ। “केलाई गुणस्तरीय मान्ने भन्नका लागि एप्लिकेसन तयार हुँदैछ। उक्त एप्लिकेसनमा मह उत्पादन गुणस्तरीय बनाउन किसानले पूरा गर्नुपर्ने सूचक राखिएको हुनेछ,” अध्यक्ष स्याङ्बोले भने, “हनी बैंकमा आबद्ध हुन साउनमै कृषकले आवेदन गर्नुपर्छ।” 

बैंकमा संकलन भएको महलाई गाउँपालिकाले बजारीकरण गर्ने उनले बताए। अहिले एक हजार ८०० रुपैयाँमा बिक्री भइरहेको मह पाँच हजार केजीमा बिक्री गर्ने तयारी गाउँपालिकाको छ। “सहकारीलाई हनी बैंक व्यवस्थापनको जिम्मेवारी दिएर त्यसका लागि आवश्यक बीउ पूँजी कुनै बैंकमा सहुलियत कर्जाको व्यवस्था गरिदिन्छौँ र उक्त कर्जाको ब्याज तिरिदिन्छौँ,” उनले भने, “गाउँपालिकाले सामुदायिक वनलाई मौरीको कार्यक्रम अनिवार्य गरेको छ। मौरीको कार्यक्रम बिना सामुदायिक वनको वार्षिक योजना स्वीकृत नै हुँदैन।”

मौरी पर्यावरणीय सन्तुलन कायम गर्ने यति महत्त्वपूर्ण प्रजातिमा पर्छ कि किसानको हकमा त यो परागसेचन उत्पादनसँग पनि यसको महत्त्व जोडिन्छ। “प्रत्यक्ष हेर्दा मौरीपालनले महमात्र उत्पादन भएको देखिए पनि अप्रत्यक्ष रूपमा विषादी न्यूनीकरण, परागसेचन, इको सिस्टम, पर्यावरण आदिका लागि मौरीको महत्त्व रहन्छ। किसानलाई आम्दानीसँग जोड्न सकिन्छ। विषादी न्यूनीकरणमा उनीहरू नै अभियन्ताका रूपमा जन्मिन्छन् भने यसलाई कुनै पैसासँग तुलना गर्न सकिँदैन भन्ने यो परियोजनाको मेन थिम हो,” अध्यक्ष स्याङ्बोले भने।

वडा नम्बर ६ का दावा स्याङ्बोले १५० घारमा मौरीपालन गरेका छन्। करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका स्याङ्बोले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए। “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन। उत्पादनको पाँच प्रतिशत मात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने। मह बिक्री गर्न समस्या छैन। व्यापारी घरमै आइपुग्छन्। प्रतिकिलो एक हजार ५०० रुपैयाँका दरले मह बिक्री हुँदै आएको उनले बताए। उनले वार्षिक २५० किलोसम्म मह उत्पादन गर्दै आएका छन्। 

रोङ गाउँपालिकाले गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान नै चलाइरहेको छ। सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन्। 

गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति बनाएको छ। सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरेको हो।