चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पेश हुन्छ: सञ्चारमन्त्री

महिला चलचित्रकर्मीले भोग्नुपरेका समस्या पनि पृथक् भएकाले यसका लागि नीति तथा बजेट तर्जुमा गर्न आवश्यक सुझाव पेश गर्न मन्त्री शर्माको आग्रह छ। 

पाटन– सञ्चारमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताएको छन्। 

सञ्चार मन्त्रालय र चलचित्र जाँच समितिले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया बोल्दै मन्त्री शर्माले चलचित्रकर्मीले भोगेका अनुभूति, परेका समस्या सल्टाउने गरी प्राप्त सुझावको आधारमा विधेयक निर्माण गरी संसद्‌मा पेश हुने भएकाले सुझाव दिन अनुरोधसमेत गरिन्। 

“चलचित्रकर्मीका समस्या र अप्ठ्यारोबारे जानकार थिएनौँ। थाहा हुँदैनथ्यो। आगामी अधिवेशनमा चलचित्रसम्बन्धी ऐन पेश गर्ने तयारीमा छौँ,” उनले भनिन्, “चलचित्र मनोरञ्जन मात्रै हैन आम सञ्चारको क्षेत्र पनि हो। कम्तीमा पनि २० वर्ष काम गर्न सक्ने कानून बनोस् भन्ने गरी सुझावको अपेक्षा गरेका छौँ।”

सरोकारवालाबीचको छलफलबाट प्राप्त सुझावका आधारमा निर्माण गर्ने कानून कार्यान्वयनमा सहज हुने उनको भनाइ थियो। सेन्सर बोर्डको कार्यालय नहुँदा भएको समस्यालाई ध्यान दिएर लाग्ने बताउँदै मन्त्री शर्माले सहजीकरण गर्ने वातावरण मिलाइने प्रतिबद्धता पनि जनाइन्। 

प्रतिस्पर्धी चलचित्र निर्माणका लागि गुणस्तर व्यवस्थापन गर्नु महत्त्वपूर्ण विषय भएकाले स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धालाई ध्यान दिनुपर्नेमा जोड दिइन्। महिला चलचित्रकर्मीले भोग्नुपरेका समस्या पनि पृथक् भएकाले यसका लागि नीति तथा बजेट तर्जुमा गर्न आवश्यक सुझाव पेश गर्न उनको आग्रह छ। 

संविधानले वर्जित गरेको विज्ञापन बजिरहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसलाई रोक्नुपर्ने र विज्ञापन बोर्डले हेर्नुपर्ने मन्त्री शर्माले बताइन्।