राप्ती नदीमा बस खस्दा ५ जनाको मृत्यु, २७ घाइते

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जनकारी दिए। 

जानकी– नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा पाँच यात्रुको मृत्यु भएको छ।

भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जनकारी दिए। 

मृत्यु हुनेहरूमा ६० वर्षीय कुसुम बस्नेत, ३९ वर्षीय सौरभ विष्ट, ६५ वर्षीय तारानाथ पाण्डे र ३१ वर्षीय भारतीय नागरिक मुने छन्। मृतक एक पुरुषको पहिचान खुल्न सकेको छैन।

केसीका अनुसार मृतकको ठेगाना खुल्न बाँकी छ। घाइते २७ जनालाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको उनले बताए। 

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

घाइतेलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।