एशियन कप फुटबल: आयोजक कतारको विजयी शुरूआत

शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक राष्ट्र कतारले लेबनानलाई ३–० ले पराजित गरेको छ।

काठमाडौँ– एएफसी एशियन कप फुटबलमा आयोजक राष्ट्र कतारले विजयी शुरूआत गरेको छ।

शुक्रबार राति भएको उद्घाटन खेलमा कतारले लेबनानलाई ३–० ले पराजित गरेको हो। जितसँगै समूह ‘एमा कतारले ३ अंक जोडेको छ। कतारको जितमा अक्रम अफिफले २ तथा अल्मोएज अलिले १ गोल गरे। 

विश्वकपको फाइनल भएको लुसेल स्टेडियममा कतारले ४५औँ मिनेटमा अग्रता लिएको थियो। अलिको पासमा अफिफले गोल गर्दै अग्रता दिलाएका थिए। 

५६औँ मिनेटमा अलीले मोहमद वादको पासमा हेडर गोल गर्दै अग्रता दोब्बर बनाए। अतिरिक्त समयको छैटौँ मिनेटमा अफिफले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए। 

प्रतियोगिताअन्तर्गत शनिबार ३ खेल हुनेछन्। समूह ‘ए’मा रहेको चीन र ताजकिस्तानबीच राति सवा ८ बजे खेल हुनेछ। 

यसैगरी, समूह ‘बी’मा रहेका अस्ट्रेलिया र भारत सवा ५ बजे तथा उज्वेकिस्तान र सिरिया राति सवा ८ बजे खेल्ने छन्।