२० किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालयसँग सम्झौतासमेत भएको छ। 

काठमाडौँ– नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ। हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो। 

सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ। स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी रहेको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।

व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ। लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र लिमिटेडबीच सम्झौतासमेत भएको छ। 

विगतमा लिमिटेडले १४६ किसिमका औषधि उत्पादन गर्दै आएको थियो। केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ किसिमका औषधि उत्पादन गर्दै आएको छ। सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि उत्पादनमा जोड दिँदै आएको लिमिटेडले पछिल्लो समय लगानीसँगै उत्पादनमा विविधीकरण गर्ने योजना बनाएको हो।

प्रतिस्पर्धी बजारमा तालमेल गर्न नसक्नु र प्रविधिमैत्री बन्न नसक्दा यस्ता सरकारी स्वामित्वका कम्पनीको प्रवर्द्धन हुन सकेका छैनन्। “हाल केही औषधिमा प्रतिस्पर्धा गर्न सकिन्छ। आगामी दिनमा कम्पनीको क्षमता विस्तार हुँदै गएपछि बजारमा उपलब्ध अन्य औषधिसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्नेछ,” उनले भने।

महाप्रबन्धक पनेरुले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए। कम्पनीले विगतको तुलनामा उत्पादन र बिक्री बढाएको छ। पछिल्लो एक महिनामा एक करोड ५० लाख रुपैयाँसम्मको औषधि बिक्री गर्न सफल भएको छ।

लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सरकारले जनतालाई उपलब्ध गराउने ९८ किसिमका औषधि उत्पादन गरेर बिक्री गर्ने मुख्य उद्देश्य रहेको र सोहीअनुसार योजना अगाडि बढेको जानकारी दिए। 

प्रतिस्पर्धी क्षमता विस्तार गर्न हाल औषधि लिमिटेडले ओगटेको क्षेत्रलाई स्वआर्जनमूलक परिसरमा रूपान्तरण गर्ने, व्यावसायिक रूपमा ‘मेडिकल हब’ सञ्चालन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको छ।

बर्सेनि अर्बौँको औषधिजन्य पदार्थको आयातलाई निरुत्साहित तुल्याउन पनि औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको महाप्रबन्धक पनेरुले बताए। उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोडको औषधिजन्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षमा २०७९/८० मा ४४ अर्ब ६४ करोड बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो। 

सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ। गतवर्ष नेपालबाट एक अर्ब ६० करोडका औषधिजन्य वस्तु निर्यात भएको थियो।