शहरी विकासमन्त्रीको गुनासो– प्राविधिक अभावका कारण भवन संहिता लागु गर्न सकिएन

राष्ट्रिय शहरी भवन संहिता ७५३ वटै पालिकामा पठाइसकेको तर, तल्लो तहमा प्राविधिक जनशक्ति अभाव हुँदा लागु गर्न नसकिएको मन्त्री गुरुङको भनाइ छ। 

काठमाडौँ– शहरी विकासमन्त्री सिता गुरुङले प्राविधिक जनशक्तिको अभावका कारण मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता लागू गर्न नसकेको गुनासो गरेकी छिन् । 

शनिबार काठमाडौँमा सुरक्षा दिवस तथा ‘विपद् प्रतिरोधी र भौतिक पूर्वाधारको गुणस्तर’ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले राष्ट्रिय शहरी भवन संहिता ७५३ वटै पालिकामा पठाइसकेको तर, तल्लो तहमा प्राविधिक जनशक्तिको अभाव हुँदा लागु गर्न नसकेको बताइन्। 

“मन्त्रालयले राष्ट्रिय शहरी भवन संहिता निर्माण गरेको छ। लागु गर्न ७५३ वटै पालिकामा पठाइसकेको छौँ। तर मापदण्ड प्रभावकारी रूपमा लागु हुन सकेको छैन,” उनले भनिन्, “किन भएन भनेर बुझ्दा प्राविधिक नै छैन। कसरी लागु गर्नु भन्ने जवाफ आएको छ।”

उनले विभिन्न संरचना बनाउँदा त्यसले जलवायु परिवर्तनसँग पार्ने असरलाई पनि जोडेर हेर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो। 

“हामीले बनाएको संरचनाले हामीलाई नै समस्यामा परिरहेको छ। त्यसैले संरचना बनाउँदा जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्छ,” उनले भनिन्, “प्राविधिक क्षेत्रबाट मात्र दिगो विकासलाई प्रभावकारी बनाउन सकिन्छ।”