माओवादी केन्द्रले विधान सम्मेलन फागुन पहिलो साता गर्ने

माओवादी केन्द्रको विधान सम्मेलन आगामी फागुन पहिलो हप्ता हुने भएको छ। स्थायी कमिटी बैठकले विधान सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

काठमाडौँ– माओवादी केन्द्रको विधान सम्मेलन आगामी फागुन पहिलो हप्ता हुने भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले विधान सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो। बैठकले सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका तयारीका लागि पार्टीका तर्फबाट पनि समन्वय समिति बनाएको छ। आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने कार्यतालिकाअनुसार १९ सिटका लागि ५१ जनाको उम्मेदवारी परेको छ।

पार्टी प्रवक्ता सापकोटाका अनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ। बैठकले पार्टी स्थायी कमिटीको अर्को बैठकको मिति माघ २६ गतेलाई तय गरेको छ। 

बैठकले हालै सम्पन्न पार्टीको विशेष रूपान्तरण अभियानले पार्टीका नेता–कार्यकर्ताको मूल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गरेको थियो। पार्टीले त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता सापकोटाका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैठकमा वर्तमान समग्र परिस्थितिका बारेमा ब्रिफिङ गर्नुका साथै प्रदेश इन्चार्जहरूले बुझाएका रिपोर्टहरूको विश्लेषण गरेका थिए। “प्रदेशका इन्चार्जहरूको रिपोर्टको सार, प्रारम्भिक र सामान्य विश्लेषण भएको छ। तर त्यसको विस्तृत समीक्षा माघको २६ गते बस्ने स्थायी समिति बैठकबाट हुन्छ। रिपोर्टको सारचाहिँ के देखियो त भन्दा खेरी यो अभियानचाहिँ विगतका अभियानभन्दा सबैभन्दा प्रभावकारी भएको छ,” उनले भने।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी गरिहेको ब्रिफिङ पनि गरेका थिए। सरकारले आगामी आर्थिक वर्षको बजेट आमनेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गर्ने उनको भनाइ थियो। पार्टी प्रवक्ता सापकोटाले बैठकमा प्रधानमन्त्री दाहालले जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाका आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरामा जोड दिएको जानकारी दिए।

“आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहिँ ड्राफटिक चेन्ज हुने भन्नुभएको छ। त्यसमा तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ। अबको बजेट बनाउँदा खेरी पहिलो कुरा त सरकारमै छलफल गरिन्छ। अन्तिममा चाहिँ अहिलेको बजेट बनाउँदा खेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ,” उनले भने।

उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताए। प्रधानमन्त्री दाहालले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हात पारेको ब्रिफिङ गरेको पनि प्रवक्ता सापकोटाले बताए। प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेतालाई गराएको माओवादी केन्द्रले जनाएको छ।