पुलिसले बागमतीलाई ६८ रनले पराजित गर्दा रासिदले १०६ रनसँगै बलिङमा पनि दुई विकेट लिए। मधेश प्रदेशले कोशीलाई हराउँदा लुम्बिनीले गण्डकी प्रदेशमाथि चार विकेटको जित हात पार्यो।
काठमाडौँ– रसिद खानको शतकप्रेरित नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सहजै पराजित गर्दै प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। शनिबार भएका अन्य दुई खेलमा मधेश प्रदेशले कोशीलाई हराउँदा लुम्बिनी प्रदेशले भैरहवामा गण्डकी प्रदेशमाथि चार विकेटको जित हात पार्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार पुलिसले बागमतीलाई ६८ रनले हराउँदा रासिदले १०६ रनसँगै बलिङमा पनि दुई विकेट लिए। २८३ रनको लक्ष्य पछ्याएको बागमतीलाई ४२.३ ओभरमा २१४ रनमा समेट्दै पुलिसले सहज जित हात पारेको हो।
बागमतीका ओपनर आंशुतोष घिरैयाले सर्वाधिक ९२ रनको योगदान गरे। उनले ८७ बलमा ९ चौका र चार छक्का प्रहार गरे। इशान पाण्डेले ४४, सोनु देवकोटाले १९, विपिन आचार्यले १७, गौतम केसीले १३ र प्रतीक श्रेष्ठले १० रन जोडे पनि बागमतीको जितका लागि पर्याप्त भएन। पहिलो विकेटका लागि आशुतोष र इशानले ९६ रनको साझेदारी गरे।
पुलिसको बलिङमा सागर ढकालले तीन, करण केसी, राशिद खान र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८२ रनको योगफल बनायो।
सातौँ नम्बरमा आएका रासिदले ११२ बलमा ९ चौका र ६ छक्कासहित १०६ रनमा अविजित रहेपछि पुलिसले विशाल योगफल बनाएको हो। आरिफ शेखले ६६ बलमा पाँच चौका र एक छक्कासहित ५७, दीपेन्द्रसिंह ऐरीले २१, सुनिल धमला र अर्जुन साउदले समान २०, करण केसीले १५ र दिलीप नाथले १३ रन बनाए। छैटौँ विकेटका लागि रासिद र आरिफले १२० रनको साझेदारी गरे।
बागमतीका लागि रिजन ढकाल र सूर्य तामाङले समान तीन तथा गौतम केसी र सोनु देवकोटाले समान एक विकेट लिए।
मधेशको सुखद शुरूआत
मूलपानी क्रिकेट मैदानमा अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ प्रेरणामा मधेशले कोशी प्रदेशमाथि सात विकेटको जित निकाल्दै सुखद शुरूआत गरेको छ। १२८ रनको सामान्य लक्ष्य मधेशले २०.१ ओभरमा मात्र तीन विकेट गुमाउँदै १७९ बलअगावै पूरा गर्यो।
विकेटकिपर तथा ओपनर अनिलकुमारले ५४ बलमा ८८ रन जोड्दै मधेशलाई जित दिलाए। उनको इनिङ्समा १४ चौका र तीन छक्का रह्यो। कप्तान तथा ओपनर हरिशंकर साहले ४ चौकासहित २४ रन जोडे।
यी दुईबीच ९३ रनको साझेदारी नै मधेशको जितका लागि पर्याप्त भयो। कोसीका सोनु मण्डलले दुई र सुजन थपलियाले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमा अलआउट भयो। कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ५० बलमा सात चौकासहित ४० रन जोडे।
फिर्दोस अन्सारीले ४१ रन बनाए। अन्सारीले ७१ बलमा दुई चौका र एक छक्का प्रहार गरे। यी दुईबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मधेशका प्रदीप पासवानले सात ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १५ रन मात्र खर्चिए। पवन सर्राफ, राजेश यादव र रञ्जीत कुमारले समान २ विकेट लिए। विशाल पटेलको नाममा एक विकेट रह्यो।
लुम्बिनीसँग गण्डकी ४ विकेटले पराजित
शनिबार नै भैरहवाको सिद्धार्थनगर मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई चार विकेटले पराजित गर्यो। बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला गरी शुरू हुँदा खेल ४२ ओभरमा झारिएको थियो।
टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाउन सक्यो। गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण ऐरले १९ रन जोडे। अमृत गुरुङले १३ रन, समीर कँडेल १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका अजय चौहानले सर्वाधिक पाँच विकेट लिँदा ८.४ ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै १६ रन खर्चिए। मोहम्मद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीको नाममा समान एक विकेट रह्यो।
११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीलाई जित दिलाउन मृनल गुरुङले ४७ रनको इनिङ्स खेल्दा मोहम्मद हुसेनले २१ रन बनाए।
यस्तै, विराट भण्डारीले १० तथा कृष्ण कार्कीले ९ रन जोडे भने कप्तान सुशान्त थापा २ रनमा आउट भए। गण्डकीका कृष्ण कार्कीले तीन विकेट लिँदा कमल परियारको नाममा पनि तीन विकेट नै रह्यो।
कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउन्ड रोविनको आधारमा भइरहेको छ। शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थानसम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
