झापामा सवारी दुर्घटना: २ जनाको मृत्यु, ८ घाइते

कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

बनियानी– झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शनिबार राति भएका दुवै दुर्घटनामा आठ जना घाइते भएको डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको हो।

ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन्। 

त्यस्तै कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन्।

यस्तै, कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको हो। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत एकापसमा ठोक्किएका थिए। 

दुर्घटनामा  रघुनाथसहित कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई घाइते भएका थिए। रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।