४ हजार युवालाई साइबर सुरक्षासम्बन्धी तालिम दिँदै काठमाडौँ महानगर

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरले तालिम दिन लागेको हो। यस योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम र पाँच हजारलाई रोजगारी दिने लक्ष्य छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चार हजार युवालाई साइबर सुरक्षासम्बन्धी तालिम प्रदान गर्ने भएको छ। 

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरले तालिम दिन लागेको हो। गौरवको योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजारलाई रोजगारीमा आबद्ध गराउने महानगरको लक्ष्य छ। सोही लक्ष्यअनुरूप साइबर सुरक्षामा मात्रै चार हजार जनशक्ति उत्पादन गर्न लागिएको महानगरको शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए। 

“साइबर सुरक्षाबारेको सीप रोजगारमूलक शिक्षा हो। यसले व्यक्तिलाई सम्भावित साइबर अपराधबाट बचाउँछ भने रोजगार क्षेत्रमा आबद्ध हुन सकिन्छ,” उनले भने, “इच्छुक विद्यार्थी र पेशाकर्मीलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ।”

गएको वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनले देखाएका छन्। यस प्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले बताए। 

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ। स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ। तर, अहिलेसम्म अधिकांश मानिसमा यो सचेतना आइसकेको छैन। 

“थाहै नपाई व्यक्तिगत सूचना अरूले दुरुपयोग गरिरहेको हुनसक्छ। कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ। इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ। हामीले यसको थालनी गरेका हौँ,” उनले भने। 

तालिम माघ २ गते शुरू हुनेछ।