राष्ट्रिय भक्का दिवस मनाइँदै, झापाका ३ पालिकामा स्थानीय बिदा

भक्का दिवसको अवसर पारेर झापाका भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका छन्।

झापा– राष्ट्रिय भक्का दिवस, आइतबार झापाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। 

दिवसको अवसरमा जिल्लाका तीन स्थानीय तहले स्थानीय बिदासमेत दिएका छन्। भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन्।

भक्का आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो। उनीहरू यसलाई ‘भाका’ पनि भन्ने गर्छन्।

झापामा २०७४ सालयता हरेक वर्ष पुस २९ गते भक्का दिवस मनाउने गरिएको छ। दिवसमा आफन्त भेला भएर भक्काका विभिन्न परिकार बनाएर खाने चलन छ।  

आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम आयोजना गरेको छ।  

राजवंशीको विशेष परिकार भए पनि पूर्वमा चोक–चोकमा बिहान बेलुका भक्का बनाएर बेच्ने चलन छ। चामलको पिठोबाट पानीको तातो बाफले बन्ने यो परिकार खाजाको रूपमा खाने गरिन्छ।