राष्ट्रियसभा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारलाई आग्रह गरेका छ।

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ। 

आइतबार सूचना जारी गर्दै आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार–प्रसार, गोष्ठी, अन्तर्क्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा उक्त रकम खर्च गर्न सक्छन्। 

त्यस्तै, उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ। उम्मेदवारले खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ। 

साथै, खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोगमा पेश गर्नसमेत आयोगले आग्रह गरेको छ।