मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताए।
म्याग्दी– मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन्।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर र गुफाहरू मुस्ताङका थप आकर्षणका रूपमा हुन्। सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन्।
स्थलमार्गबाट मुस्ताङ जिल्ला भित्रिने प्रवेश बिन्दुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र प्रर्वद्धनमा जुटेको छ। तीन करोड बढी लागतमा थासाङको तीन वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङवो गुफामा पूर्वाधार निर्माण भएको छ।
गुरुसाङवो गुफा, सेकुङ, भुतर्छो ताल थासाङ–२ र टिटी ताल वडा नम्बर ५ मा अवस्थित छ। मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताए। “सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका छन्,” उनले भने, “सडक निर्माणसँगै छोटिएको पदमार्ग र पर्यटकको बसाई लम्बाउन नयाँ गन्तव्य पहिचानसँगै पूर्वाधार निर्माणमा जुटेका छौँ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा दुई करोड ९९ लाख ९७ हजार १२६ लगानीमा पूर्वाधार निर्माण भएको हो। पछिल्लो पटक थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको १० लाख लागत साझेदारीमा थप पूर्वाधार निर्माण भएको छ।
पहाडको बीचमा रहेको गुरुसाङवो गुफामा पुग्ने २८६ मिटर रेलिङ र सिंढीसहितको पदमार्ग, १९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएको छ। विभिन्न आकृतिका दृश्यावलोकन गर्न सकिने गुरुसाङ्वो गुफामा वौद्ध धर्म गुरुहरुले तपस्या गरेको स्थानीय इन्द्रसिंह शेरचनले बताए। बेनी–जोमसोम सडकको लाजुङ र बोक्सीखोलादेखि नाउरीकोटसम्म गाडी र त्यहाँदेखि एक घण्टा पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीमा रहेको पहाडको बीच भागमा रहेको गुरुसाङवो गुफामा पुगिन्छ।
बेनी–जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने तीन किलोमिटर ५१० मिटर सडक निर्माण भएको थासाङ गाउँपालिकाका इञ्जिनीयर विष्णु बास्तोलाले बताए। गोलो आकारको सेकुङ तालको वरपर ढुंगा बिछ्याएर १९१ मिटर पैदलमार्ग, १२४.५ मिटर रिटेनिङ पर्खाल र दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण भएको छ । भुतर्छो तालमा २६.५ मिटर रिटेनिङ पर्खाल, १६० मिटर पैदलमार्ग र एउटा दुई कोठे पक्की शौचालय निर्माण भएको छ। करिब ३० मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ। दुई वटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ।
समुन्द्री सतहदेखि दुई हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जंगलबीचमा अवस्थित भुर्छतो तालको लम्बाई करिब ५०० मिटर, चौडाई ५० मिटर र गहिराई पाँच मिटर भएको अनुमान छ। थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो। सुख्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ। करिब १५० मिटर लम्बाई र २० मिटर चौडाई रहेको सेकोङ ताल समुन्द्री सतहदेखि दुई हजार ७२५ मिटरको उचाइमा अवस्थित छ। ताल परिसरमा चौंरी, भेडाबाख्रा र गाईभैंसीको चरन खर्क छ। सेकुङ र भुतर्छो तालदेखि करिब एक घण्टा ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटी ताल चराहरुको बासस्थान हो। १८६ प्रजाति चराको बासस्थान रहेको टिटी तालमा तीन प्रजातिका हाँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।
बेनी–जोमसोम सडकको छाक्ताङदेखि पूर्वतर्फ कालिगण्डकी नदी पारी तीन किलोमिटर पैदल यात्रा गरेर पुगिने टिटी तालमा एक वटा दुई कोठे पक्की शौचालय र ताल वरपर ४७२ मिटर पदमार्ग निर्माण भएको छ। पर्यटकीय पूर्वाधार निर्माणका लागि कुल चार करोड असी लाख एक्काइस हजार २२४ लागत अनुमान गरिएकामा मुक्तिनाथ महादेव जे।भी। पोखराले तीन करोड ९९ लाख ९७ हजार १२६ मा ठेक्का लिएको इञ्जिनीयर बास्तोलाले बताए। उनका अनुसार योजना निर्माणमा थासाङ गाउँपालिकाले ९१ लाख र पर्यटन मन्त्रालयले दुई करोड आठ लाख ९७ हजार १२७ भुक्तानी गरेका छन्।
समुन्द्री सतहदेखि २६ सय ७९ मिटर उचाइमा रहेको टिटी तालमा पर्यटन वोर्ड पोखरा र थासाङ गाउँपालिकाको पाँच/पाँच लाख लागत साझेदारीमा दुई वटा विश्रामस्थल निर्माण, १६ वटा बेञ्च, डस्टबिन राखिएको र फोहोर व्यवस्थापन गर्ने खाडल खनिएको छ। यी तालहरुमा आकाश खुलेको अवस्थामा धवलागिरि र निलगिरि हिमालको छाँया देखिन्छ। खुल्ला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो।
ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए। “सेकुङ, भुर्छतो, टिटी ताल र गुरुसाङवो गुफा मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएका छन्,” उनले भने, “संरक्षण, पूर्वाधार निर्माण र प्रर्वद्धन गरेर थासाङको ताल र गुफालाई मुस्ताङ भित्रिने पर्यटक भुलाउने थलोका रुपमा विकास गर्न प्रयास थालिएको हो।”
प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यसअघि सुनसान थियो। थासाङका ताल भ्रमणमा क्रममा हिमाल, जंगल र एकान्त वातावरणका साथै वन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न सकिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका गिता गुरुङले बताए। ‘ताल, हिमाल, वनजगल, वन्यजन्तु र पंक्षीहरुको एकै पटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुश भयो,’ उनले भने। सेकुङ र भुर्छतो ताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ। ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैंसी, भेडाबाख्रा र चौंरी गोठ रहन्छन्।
चलचित्र र गीतका म्युजिक भिडियो छायांकनका लागि यो ताल ‘भर्जिन’स्थल बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिसभाको पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए। ‘ढलेका रुख र बाढीले ताल पुरिंदै गएको थियो,’ उनले भने, ‘घेरबार पर्खाल, पदमार्ग र शौचालय निर्माणपछि पर्यटकलाई सहजताका साथै संरक्षण, सफा भएको छ।’ नर्साङ गुम्बा, थकाली समुदायको उद्गम स्थल कोवाङ, नाउरीकोट, गुरुसाङवो गुफा, भुर्छतो, सेकुङ, टिटि ताल, लेते र धवलागिरी आईसफललाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य सहित पूर्वाधार निर्माण गरिएको पूर्वसांसद तुलाचनले बताए।
नजिकैको बस्ती कोवाङ र लेतेदेखि डेढ घण्टा पैदल हिडेपछि तालमा पुग्न सकिन्छ। सडकमा सवारी साधन तथा पदमार्गमा पैदल हिडेर तालमा पुग्ने विकल्प छ। टिटी ताल परिसरमा बस्ती छ। सेकुङ, भुर्तछो ताल र गुरुसाङवो गुफा नजिकै बस्ती छैनन्। एकान्त वातावरण छ। धवलागिरि हिमालको पूर्वी मोहोडबाट निरन्तर खसिरहने हिउँपहिरो नजिकबाट अवलोकन गर्न सकिने आइसफलमा पुग्न कोवाङबाट पाँच घण्टा पैदल हिड्नुपर्छ। आइसफल पुग्ने यो छोटो पदमार्ग हो।
सेकोङ तालदेखि धवलागिरि आइसफलसम्म जाने पदमार्ग, क्याम्पिङ साइट, ताल संरक्षण गरी पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष शेरचनले बताए। धौलागिरि आइसफल हुँदै म्याग्दी निस्कने पदमार्ग सञ्चालनको तयारी भएको छ। सेकोङ, भुर्छतो र गुरुसाङवो गुफाको नजिकैको बस्ती नाउरीकोट प्राकृतिक हिसाबले सुन्दर बस्ती हो। नाउरीकोटको फेदी कोवाङ गाउँपालिकाको केन्द्र हो। बेनी–जोमसोम सडकले छोएको कोवाङलाई नेपालका अल्पसङ्ख्यक थकाली समुदायको उद्गमस्थल मानिन्छ । कोवाङमा नर्साङ गुम्बा रहेको छ।
पूर्वमा निलगिरि, अन्नपूर्ण र पश्चिममा धवलागिरि, टुकुचे हिमाल दन्तलहर झैं देखिने नाउरीकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। फापर, मकै, गहुँ खेती हुने समथर फाँटमा रहेको नाउरीकोटबाट धौलागिरि हिमालको चुचुरोबाट खस्ने हिउँ थुप्रिएर बनेको आइसफल हेर्न पाउनु अर्को विशेषता हो।
अल्पसंख्यक थकाली समुदायको बसोबास रहेको नाउरीकोटबाट बर्खामा देखिने हरिया पाखामा दूधका धारा झैँ गरी बग्ने झरना र छहरा हिउँद्मा सुक्दा सेताम्मे हिउँले छोपिन्छ। वसन्त ऋतुमा पृष्ठभूमिमा पाखाभरि लालीगुराँसले रङ्गिन्छ। भदौ, असोज महिनामा वरपरका बारीमा लहलह फापर फुल्दा वातावरण रमणीय बन्ने नाउरीकोटका नरसाम्बो गौचनले बताए।
कोवाङदेखि करिब २० मिनेट पैदल र १० मिनेट सवारी साधनमा यात्रा गरेर पुगिने नाउरीकोटका वरपर घुम्नलायक धेरै ठाउ छन्। भुर्तछो र सेकुङ ताल, गुरुसाम्पुक गुफा र धौलागिरि आइसफल नाउरीकोट भित्रने पर्यटकका लागि घुम्ने ठाउँ हुन्। थकाली समुदायको जीवनशैली, संस्कार, संस्कृति रहनसहन पनि यहाँको थप आकर्षण हो।
नाउरीकोटमा पर्यटकको सुविधाका लागि होटल, लज तथा होमस्टेको सुविधा छ। नजिकैको जंगलमा पाइने वन्यजन्तु, पंक्षी, जडीबुटी, वनपैदावार, भेडा, चौंरीका गोठ थप आकर्षण हो। वौद्ध धर्मगुरुहरुले वुद्धत्व प्राप्त गर्न तपस्या बसेको करिब ३० मिटर लामो गुरुसाङवो गुफाभित्र बाघको पन्जा, हात्तीको सुँड, चौँरीको खुर, गाईभैंसीको कल्चौरा, कछुवाको मुखलगायतको आकृति देख्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
