नेप्से ३१.६२ अंकले बढ्यो, ५ अर्ब ४५ करोडको कारोबार

जलविद्युत् समूहका पाँच कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अंकले बढेर २१२०.६२ को बिन्दुमा कायम भएको छ। 

आइतबार ३१४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता शेयर ९४ हजार ५२६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक ०.०१ र व्यापार समूह ०.९४ अंकले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जनविद्युत् समूह ४.५८ र अन्य समूह २.७७ प्रतिशतले बढेको छ।

जलविद्युत् समूहका पाँच कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत् कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फन्ड–१ को शेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर संख्याको आधारमा आइतबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर ३५ करोड ६८ लाख ३८ हजार ७२० रुपैयाँ बराबरको १२ लाख ७४ हजार ४२४ कित्ता किनबेच भएको छ।