प्रधानमन्त्री कप : गण्डकीको लगातार दोस्रो पराजय

गण्डकीले दिएको १२३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनायो। कर्णालीको जितमा हिमान्शु शाहीले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए।

काठमाडौँ– गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पराजय बेहोरेको छ। शनिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशसँग ४ विकेटले पराजित भएको गण्डकी दोस्रो खेलमा कर्णालीसँग ७ विकेटले पराजित भएको हो।

गण्डकीले दिएको १२३ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनायो। कर्णालीको जितमा हिमान्शु शाहीले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। उनले ७१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

ओपनर निश्चल रावलले ८२ बलमा ३ चौकासहित २९ रन बनाए। उनी पनि अविजित रहे। अर्का ओपनर तथा कप्तान रवीन्द्र शाहीले २० रन बनाउँदा अर्जुन घर्ती १० रनमा अविजित रहे। विपिन शाही भने ६ रनमा पेभिलियन फर्किए।

गण्डकीका अंकित न्यौपानेले सर्वाधिक २ विकेट लिएर विपिन खत्रीको नाममा १ विकेट रह्यो।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। खराब मौसमका कारण ५ ओभर खेलमा घटाइएको थियो।

गण्डकीले शुरूआत राम्रो गर्न सकेको थिएन। पहिलो पावरप्लेमा १६ रन बनाउँदा गण्डकीले ४ विकेट गुमाइसकेको थियो। गण्डकीका अमृत गुरुङ र कमल परियारले २१/२१ रन बनाए। अश्विन राना १६ र कप्तान विपिन खत्री १० रनमा आउट हुँदा चन्द्र पौडेल १४ रनमा अविजित रहे।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दिपेन्द्र रावलले २/२ विकेट लिए।

प्रकाश जैशी, दिवन पुन र रवीन्द्र शाहीको नाममा १/१ विकेट रह्यो। कर्णालीको यो पहिलो खेल हो। जितसँगै कर्णालीले २ अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। गण्डकी भने पाँचौँ स्थानमा छ।