चितवनमा स्क्रब टाइफसबाट ४ जनाको मृत्यु

संक्रमण भएमा श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक राम केसीले बताए।

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार २५४ जनामा गरिएको परीक्षणमा १६३ जनामा उक्त संंक्रमण देखिएको थियो। संक्रमितमध्ये चार जनाको मृत्यु भएको हो। ती संक्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए। 

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार ४८५ जनाको परीक्षणमा ५१९ जनामा उक्त संक्रमण देखिएको थियो। संक्रमित सबै उपचारपछि घर फर्किएका थिए।

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो। साधरणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स)लाई संक्रमण गर्छ। सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्। संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर  शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गर्छ।

यो रोग लागेका मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक केसीले बताए। 

यसैगरी गत साउनयता जिल्लामा २१ हजार २९८ जनामा गरिएको परीक्षणमा डेंगुबाट संक्रमण हुनेको संख्या एक हजार ६१५ पुगेको छ। जिल्ला बाहिरका एक जनाको सोही रोगका कारण मृत्यु भएको उनले जानकारी दिए।