इंग्लिस प्रिमियर लिग: टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे

आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन्।

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन्।

घरेलु मैदानमा युनाइटेडले २ पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो। रासमस होजलुन्डले खेल शुरू भएको तेस्रो मिनेटमै गोल गर्दै वल्ड ट्राफोर्डमा उपस्थित समर्थकलाई खुशी दिलाएका थिए। तर १९ औँ मिनेटमा रिचार्लिसनले पेड्रोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि युनाइटेडका समर्थक स्तब्ध भएका थिए।

४० औँ मिनेटमा मार्कस रासफोर्डले होजलुन्डको पासमा गोल गर्दै पुनः २–१ को अग्रता दिलाए। तर, दोस्रो हाफको शुरूमै रोड्रिगो वेन्टकुरले टिमो वार्नरको पासमा गोल गरेपछि टोटनह्यामले २–२ को बराबरीमा खेल ल्याएको थियो। त्यसपछि दुवै टोलीबाट गोल नभएपछि एक एक अंकमा चित्त बुझाए। टोटनह्याम ४० अंकसहित तालिकाको पाँचौं तथा युनाइटेड ३२ अंकसहित सातौँ स्थानमा रहेको छ।

आइतबार नै भएको अर्को खेलमा एभर्टन र एस्टन भिल्लाले पनि अंक बाँडेका छन्। एभर्टनको मैदानमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन्। जारी सिजनमा एस्टन भिल्ला ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने एभर्टन १७ अंकका साथ १७ औं स्थानमा छ।