डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन्।

डेनमार्कका युवराज फ्रेडरिकलाई राजा घोषित गरिएको छ। युवराज फ्रेडरिकलाई आइतबार त्यहाँका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका बीबीसीले जनाएको छ।

अघिल्लो दिन, रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो। आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौँ मानिसहरू भेला भएका थिए।

नयाँ वर्षका दिन टेलिभिजन कार्यक्रममा बोल्दै रानी मार्गरेटले राजगद्दी सम्हालेको ५२ वर्ष पुगेको दिन जनवरी १४ मा पद त्याग्ने घोषणा गरेकी थिइन्। ८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्।

अहिलेको डेनमार्कको राजतन्त्र १० औँ शताब्दीदेखि चल्दै आएको बताइन्छ। यसलाई युरोपमा सबैभन्दा पुरानो र विश्वकै पनि पुरानोमध्ये एक राजतन्त्रात्मक देशको रूपमा चिनिन्छ। अहिले शाही परिवारका कर्तव्यहरू धेरै हदसम्म औपचारिक छन्।