राष्ट्रपतिको आग्रह : संविधानले दिएका अधिकार कार्यान्वयन गर्न कानून निर्माणमा ढिलाइ नगरौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन्। 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन्। 

राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरूले छिटोभन्दा छिटो आवश्यक कानूनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन्। 

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई माघी पर्वको अवसर पारेर सोमबार राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर उनले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताए। 

“देशमा निराशा लगायतका कुराहरू आएका छन्। यो संविधान कार्यान्वयनको कमीले हो,” उनले भने, “विदेशबाट आएकाहरूको मात्र होइन कि देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ। अगाडि बढ्ने हो, संविधान कार्यान्वयन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो। आज हामीले यही अठोट गर्नुपर्छ।” उनले जनताको आशालाई निराशामा परिणत नगर्न पनि आग्रह गरे।

राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माणमा गर्ने काममा ढिलाइ गर्न नहुने बताए।

त्यस अवसरमा राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रूपमा चित्रण गर्दै सबैमा शुभकामनासमेत व्यक्त गरेका थिए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष, गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालगायतका नेताहरूको उपस्थिति रहेको थियो।