कार्य सम्पादन कमजोर हुने मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको चेतावनी

देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्री दाहालले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।

फाइल तस्वीर

अर्घाखाँची– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र संकटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा सोमबार आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला–महोत्सव बिरलै हुने गरेकामा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू आयोजना हुनु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताए।  

“अघिल्लो वर्ष यस्ता मेला–महोत्सव विरलै आयोजना हुन्थे तर यस वर्ष अभियानकै रूपमा मेला हुन थालेका छन्। विश्व बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पनि नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको जनाएका छन्। हाम्रा लागि यो शुभसंकेत हो,” उनले भने। उनले उद्योगी–व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे। 

देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्री दाहालले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।

उनले अर्घाखाँचीको सिद्धारा–जलुके क्षेत्रमा ‘जनयुद्ध’कालमा आफू हिँडेको स्मरण गर्दै यस क्षेत्रको पर्यटकीय विकासका निम्ति आफू सकारात्मक रहेको बताए। उनले अर्घाखाँचीको विकासमा संघीय सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको विकासप्रति स्थानीय राजनीतिक दलमा देखिएको एकता र सहकार्यको सराहना गरे।

“गोरुसिङ्गे–सन्धिखर्क सडक निर्माणका निम्ति आवश्यक बजेटको प्रबन्धका साथै गच्छे–भालुवाङ सडकलगायत रणनीतिक परियोजनाहरू सम्पन्न गर्न संघीय सरकारको सहयोग रहनेछ। सन्धिखर्क–शीतगंगा र भूमिकास्थान नगरपालिका तथा मालारानी–छत्रदेव र पाणिनी गाउँपालिकाको विकासका निम्ति संघीय सरकारले ध्यान दिनेछ,” प्रधानमन्त्री दाहालले भने।

अर्थतन्त्रलाई चलायमान बनाउन आफू नेतृत्वको सरकारले भरमग्दुर प्रयास गरिरहेको स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले भने, “जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो। निर्वाचनबाट आएको त्रिशंकु संसद्ले राजनीतिक स्थायित्व दिने नदिनेमा निकै ठूलो संशय थियो तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदै गएका छन्।” 

प्रधानमन्त्री दाहालले विदेशी मुद्राको सञ्चितिमा प्रगति भएको, पर्यटक आगमनमा वृद्धि भएको, बैंकको ब्याज कटौती गरिएको, सहकारी र लघुवित्तका समस्या सम्बोधन भएका, भुक्तानी सन्तुलन, विप्रेषण वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको बताए।

विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको तथा सन् २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका बताउँदै प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धि प्राप्तिका निम्ति काम भएका उल्लेख गरे।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्रगति भएको, आफ्नो चीन र भारत भ्रमणका साथै विश्व खाद्य सम्मेलन, राष्ट्रसंघीय महासभा, विश्व जलवायु सम्मेलन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र यसै साता युगान्डामा आयोजना हुने असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) मा आफूले गर्ने सम्बोधनबाट देशको अन्तर्राष्ट्रिय छवि अझ उजागर हुने विश्वास व्यक्त गरे।

त्यस अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली, पूर्वउपसभामुख पुष्पा भुसाल,  पूर्वऊर्जामन्त्री पम्फा भुसाल, प्रदेश सांसद रामजी घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायत सबै स्थानीय तहका प्रमुख–उपप्रमुखको उपस्थिति थियो।