रोहितको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जित

कोशीले दिएको १३५ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनप्रेरित एपीएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।

सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। कोशीले दिएको १३५ रनको लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनायो।

एपीएफका कप्तान रोहितले सर्वाधिक ८० रन बनाए। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। ओपनर प्रज्वल शाहीले २२ रन बनाउँदा सुमित महर्जन २० रनमा अविजित रहे। एपीएफका आशिफ सेख ४ र पूर्ण विक १ रनमा आउट हुँदा सन्दीप जोरा २ रनमा अविजित रहे।

कोशीका फिरदोश अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले १/१ विकेट लिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन बनायो।

कोशीका फिरदोश अन्सारीले सर्वाधिक ५५ रन बनाए। उनले ८५ बलमा ८ चौका प्रहार गरे। सोनु अन्सारी २०, कप्तान अंकित सुवेदी १३, सोनु मण्डल ११ र आइस भट्टराईले १० रन बनाउँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।

कोशीलाई धराशायी बनाउन एपीएफका रोहितकुमार पौडेल र अविनाश बोहराले ३/३ विकेट लिए।

अमर रौटेलाले २ विकेट लिँदा भुवन कार्की र श्याम ढकाल (मौसम)को नाममा १/१ विकेट रह्यो। एपीएफको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो।

जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफको दुई खेलबाट ४ अंक रहेको छ। कोशीको भने लगातार यो दोस्रो हार हो। कोशी पहिलो खेलमा मधेश प्रदेशसँग ७ विकेटले पराजित भएको थियो।