प्रधानमन्त्री कप : लुम्बिनी दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित

लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो पराजय बेहोरेको छ। सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशसँग लुम्बिनी ५ विकेटले पराजित भएको हो।

लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमका शेर मल्लले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। उनले ४४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै, नारायण जैशी २८ रनमा अविजित रहँदा ओपनर खडक बोहरा २१, टेक रावत १८, किरण ठगुन्ना १६ र नरेन भट्ट १२ रनमा आउट भए।

लुम्बिनीका अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए। कृष्ण कार्की र अजय चौहानको नाममा १/१ विकेट लिए।

त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

लुम्बिनीका प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे। मोहम्मद हुसेन २६, ओपनर बिराट भण्डारी २३, मृणाल गुरुङ १४, दिलसद अली १० रनमा आउट हुँदा कृष्ण कार्की १२ रनमा अविजित रहे।

सुदूरपश्चिमका नारायण जैशीले सर्वाधिक ३ विकेट लिए। भोजराज भट्ट र नरेन साउदले २/२ विकेट लिँदा १ विकेट मिलन बोहराको नाममा रह्यो।

सुदूरपश्चिमको यो पहिलो खेल हो। लुम्बिनीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो।