पर्सामा कोरोना संक्रमित भेटिएपछि बढाइयो निगरानी

भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए।

फाइल तस्वीर

पर्सा– कोरोनाका नयाँ संक्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ। भारतको विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगन्जस्थित सीमा नाकामा नयाँ संक्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो।

सीमा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी भारतबाट आउनेहरूको निरीक्षण र निगरानी गन थालिएको छ। भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए। उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई शुरूमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन्।

संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार २०५ जनाको स्क्रिनिङ गरिएको जानकारी दिए। जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एक जना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरूको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शंकास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ। एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए।

हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ। पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना संक्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।  

होल्डिङ सेन्टर तयारी अवस्थामा
वीरगन्जस्थित सीमा नाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ। कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणको उद्देश्यका साथ यहाँस्थित सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो।

निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगन्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिए। कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेनटिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेनटिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उनको भनाइ थियो।

भारतबाट आएकालाई क्वारेनटिनमा राख्नका लागि पर्सामा करिब २८ करोड रुपैयाँ लागतमा कुल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिए। उनका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन्।

उक्त क्वारेनटिनमा एक हजार शय्या छन्। जसमध्ये नौ सयमा सामान्य लक्षण भएकालाई र एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने छ। त्यस्तै, अन्य तीन वटा एसीसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले बताए।