विनोदको शतकमा आर्मीको विजयी शुरूआत

प्रधानमन्त्री कपमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ। आर्मीका विनोद भण्डारीले शतकीय इनिङ्स खेलेका छन्।

काठमाडौँ– कप्तान विनोद भण्डारीको शतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। सोमबार सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गरेको हो।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेशले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन मात्रै बनाउन सक्यो। मधेशका पवन सर्राफले सर्वाधिक ६५ रन बनाए। उनले ८३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

ओपनर मायन यादव ३४, रुपेश सिंह १८, विशाल पटेल १७ र अनिल साहले १२ रन बनाउँदा राजेश यादव ३२ रनमा अविजित रहे। मधेशका अन्य ब्याटरले भने कृजमा जमेर खेल्न सकेनन्।

आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिए। यस्तै, सोमपाल कामीले २ तथा जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३२० रन बनाएको थियो।

आर्मीका विनोद भण्डारीले ११३ रनको शतकीय इनिङ्स खेले। उनले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे।

ओपनर सन्तोष कार्कीले ४२ रन बनाउँदा कुशल मल्ल र विवेक यादव ३७/३७ रनमा आउट भए। ओपनर इमरान सेख २६, भीम सार्की १८, बसिर अहमद १६ रनमा आर्ट हुँदा जितेन्द्र मुखिया २ रनमा अविजित रहे।

सन्दीप रजाईली गोल्डेन डकआउट भए भने सोमपाल कामी ६ र शाहब आलम ७ रनमा पेभिलियन फर्किए।

मधेशका रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए। विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवको नाममा १/१ विकेट रह्यो।

आर्मीको यो पहिलो खेल हो। आर्मी २ अंक जोड्दै दोस्रो स्थानमा छ। मधेशको भने यो दोस्रो खेल हो। पहिलो खेलमा मधेशले कोशीलाई ७ विकेटले पराजित गरेको थियो। मधेश २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।