दुई प्रयत्नमा आफू सफल नभएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने विषयमा आफू सोचेजस्तो सफल हुननसकेको बताए। पूर्वी नेपाललाई किरात प्रदेश बनाउने प्रयास पनि पूरा नभएको उनको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा दुई वटा प्रयत्नमा आफू सफल हुन नसकेको बताएका छन्। 

नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने विषयमा आफू सोचेजस्तो सफल हुननसकेको बताएका प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किरात प्रदेश बनाउने प्रयास पनि पूरा नभएको सुनाए।

नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको बताउँदै त्यसमा पहल गरिरहँदा पनि सफल भइनसकेको जिकिर गरे।

उनले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदप्रति उच्च सम्मान रहेको बताए। नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाको पनि सम्मान हुने भएकाले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

“नेपालको क्रान्तिकारी आन्दोलनमा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नै पर्दछ। मलाई कठोर निरंकुशताविरुद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारीलाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने मागप्रति सहमत छु। यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुन्छ भन्ने मेरो विश्वास छ। यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक पहल भइरहेको र पहल गरिने विश्वास पनि म तपाईंहरूलाई दिलाउन चाहन्छु। म जति सफल हुनुपर्ने हो, अझै भएको छैन। यो कुरा साँचो हो,” उनले भने।

त्यस्तै, प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किरात प्रदेश बनाउने आफ्नो प्रयास निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको तर्क गरे। “मैले पूर्वलाई किरात प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो। मैले निर्वाचनको क्रममा पनि किरात भनेको एउटा जातिको मात्रै कुरा होइन। एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए। तर दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन। परिणाम तपाईं हामीले भोगिराखेकै छौँ,” उनले भने। 

प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि दोहोर्‍याए।