काठमाडौँ उपत्यकाका ५३ वटा भवन र ४ पुल भूकम्पीय उच्च जोखिममा

अध्ययनले काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेको देखाए पनि सरकारले ती संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाएको छैन।

काठमाडौँ– काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा छन्। तर, सरकारले अहिलेसम्म ती संरचना पुनर्निर्माण प्रक्रिया भने अघि बढाएको छैन। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले उपत्यकाका ५३ वटा भवन संरचना र चार वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको देखाएको हो। तिनको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । 

उक्त संरचना पुनर्निर्माणमा करिब तीन अर्ब ६१ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ।

जसमा ३२ वटा विद्यालय भवनको लागि एक अरब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोड ७४ लाख, आठ वटा सरकारी भवनको लागि ५१ लाख ८० लाख र चार वटा सडक पुलको लागि एक अर्ब सात करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ। 

तीमध्ये पनि काठमाडौँ महानगर भित्र मात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ।