सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको छ।
वीरगन्ज– नेपाल खोनेपानी संस्थानले वीरगन्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको २७८ धाराको लाइन काट्ने तयारी गरेको छ।
सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो।
खानेपानीको मुहान सुकेर पानीको समस्या भएको भन्दै महानगरले महसुल भुक्तानी गर्नेगरी धारा जडान गरिदिन पत्राचार गरेपछि संस्थानले २०८० साउनमा वडा नम्बर १ देखि १९ सम्मको विभिन्न सार्वजनिक स्थानमा धारा जडान गरेको थियो। धारा जडान भएयता महानगरले खानेपानी महसुल भुक्तानी नगरेपछि ती धाराको लाइन काट्ने तयारी गरिएको संस्थान वीरगन्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए।
“सार्वजनिक स्थानमा जडान भएका ती सबै धारा जडानलागत तथा मासिक महसुल ४४ लाख रुपैयाँभन्दा बढी बक्यौता भइसकेको छ,” उनले भने, “बक्यौता महसुल बुझाउन गत असोज २५ गते नै पत्राचार गरे पनि अझै महसुल बुझाएको छैन।”
महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खानेपानी महसुल बुझाउने प्रतिबद्धता जनाएको र उनको अन्यत्र सरुवा भएपछि आनाकानी गरिएको उनको भनाइ छ। बाध्य भएर सार्वजनिक स्थानमा जडान भएका धाराको लाइन काट्ने तयारी गरेको प्रमुख महर्जनले बताए।
यस्तै, संस्थानले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने २३ ग्राहकको धाराको काटेको छ। धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि पहिलो चरणमा ५० हजार रुपैयाँभन्दा बढी बक्यौता राख्ने ५४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न शुरू गरेको हो।
महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न शुरू गरिएको प्रमुख महर्जनले जानकारी दिए। संस्थानले ग्राहकबाट करिब १२ करोड २५ लाख ७९ हजारभन्दा बढी बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ। संस्थानले एउटै ग्राहकबाट दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनले जानकारी दिए।
खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीस, उद्योगी–व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताए। महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम वडा कार्यालयमा टाँसिएको र पटक–पटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको उनको भनाइ छ।
महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको जनाइएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आफू भर्खरै सरुवा भएर आएकाले यस विषयमा धेरै कुरा थाहा नभएको बताए। कुल दुई लाख पाँच हजार जनसंख्या रहेको वीरगन्ज महानगरभित्र खानेपानी संस्थानबाट आठ हजार १०० ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन्।
दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगन्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख महर्जनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
