दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका हुन्।

माघ २८ गते दाङ, काठमाडौँको चन्द्रागिरि र बागलुङमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो।

ज्ञापनपत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो? भन्दै मन्त्री ज्वालालाई प्रश्न गरिन्। उनले चालु आर्थिक वर्षको मंसिरसम्म देशभर साना ठूला गरेर करिब १० हजार ७४५ दुर्घटना भएको र त्यसमा ९१६ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक रहेको उल्लेख गर्दै गम्भीर बन्न आग्रह गरिन्।

“यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिब १० हजार ७४५ दुर्घटना भएका छन्। जसमा ९१६ जनाले ज्यान गुमाएका छन्। २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ,” उनले भनिन्।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए। सरकारले समस्या समाधान गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो।

उनले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने उल्लेख गर्दै सडकलाई खाल्डाखुल्डी रहित बनाएर, सडक सुधारका कामलाई तीव्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारीसाधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताए।

सो अवसरमा रास्वपाका सहमहामन्त्री श्रेष्ठसहित सचेतक निशा डाँगी र पूर्वाधार विभागका सचिव कृष्ण भेटवाल पनि सहभागी थिए।